काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुुद्दाका फरार प्रतिवादी वरुण ढकाललाई पक्राउ गरेको छ । सीआईबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका दिएको जानकारीअनुसार घरजग्गा व्यवसायी समेत रहेका ढकाललाई काठमाडौंको पेप्सीकोलामा लुकिछिपी बसिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको हो ।
पक्राउ परेका ढकाललाई फैसला कार्यान्वयनको सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको उनले बताइन् । प्रवक्ता प्रहरी उपरीक्षक पन्तका अनुसार कमला कुमारी राई र कल्पना कुमारी राई समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी वरुण ढकाल भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको यही पुुस १५ गतेको फैसलाले खोटाङ जिल्लाको साबिक विजयखर्क गाविस वडा नं.–७ परिवर्तित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.–१५ घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नं.–९ गोठाटार बस्ने ३४ वर्षीय ढकाललाई पाँच दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ बिगो जरिवाना हुने ठहर गरेको थियो । ‘उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादी ढकाललाई आइतबार हामीले पक्राउ गरेका हौँ’, प्रवक्ता पन्तले भनिन् ।
प्रवक्ता पन्तका अनुसार प्रतिवादी ढकालले २०७५ चैत २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड शाखा कार्यालय कोटेश्वरमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडित जाहेरवाला कमला कुमारी राईलाई ५६ लाख १५ हजार र कल्पना कुमारी राईलाई पाँच लाख ४० हजार रुपैयाँबराबरको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम क्रमशः तीन दिन कैद र ५६ लाख १५ हजार तथा दुई दिन कैद र पाँच लाख ४० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।
यसैबीच सीआईबीले संरक्षित वन्यजन्तुको आखेटोपहारसहित तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ । ब्युरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा वडा नं. ६ झुलपाखाबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला (आखेटोपहार) अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा आइतबार बारा जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ३४ कि फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गाविस वडा नं. ८ बस्ने वर्ष ३२ को शिव पल्ली र रामेछाप दोरम्बा गाउँपालिका वडा नं. २ बस्ने वर्ष २२ को पासाङ टसी तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका मानिसहरुलाई आवश्यक कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंमा पठाइएको सीआईबीले जानकारी दिएको छ ।