काठमाडौं ।
एनआईसी एसिया बैंकले धरान उपनगरपालिकामा अवस्थित भानुचोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका एक सयभन्दा बढी तरकारी, फलफूल, कपडालगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्यूआर कोड वितरण गरेको छ । उक्त क्यूआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्यन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई धरान संयुक्त बजार एकता संघका अध्यक्ष रामकुमार दास र बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिस्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमका बीच संयुक्तरूपमा गरेका हुुन् ।
बैंकको मोबाइल बैंकिङ, फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले मोबाइल बैंकिङ एप, वालेटमार्फत बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सक्नेछन र सो रकम सम्बन्धित बिक्रेताको यस बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायिक क्षेत्रहरूलाई समेत क्यूआर भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई द्रुत गतिमा अगाडि लैजानका लागि आवश्यक योजना अगाडि सारेको छ ।
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य वृद्धि भएसँगै मोबाइल बैंकिङ तथा क्यूआर कोडबाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्ररूपमा वृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकमा नगदरहित अर्थतन्त्रको निर्माण गर्न सहयोग पु-याउन यस योजनालाई बैंकले अगाडि बढाएको हो ।
बैंकले हालसम्म देशभर ४१ हजारभन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ र यस प्रणालीमा आबद्ध हुन चाहाने नयाँ व्यापारीहरूका लागि बैंकले ९८२८७११११५ नम्बरमा सम्पर्क गरी तथा बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिनसकिने समेत व्यवस्था गरेको छ ।