काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्ने गरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गरेका छन् । सोमबार सम्पन्न नास्टको ४४औँ प्राज्ञसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गरे ।
अहिलेसम्म हाम्रो गति उत्साहहीन, संकल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि प्रधानमन्त्रीले बताए । ‘सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो । पहिले सरकारमा कसरी पुग्ने र पुगेपछि कसरी टिक्ने नीति लिने मात्र कामजस्तो भयो’, उनको भनाइ थियो ।
करिब एक सय ११ वर्षअघि दक्षिण एसियामा पहिलोपटक जलविद्युत् गृह बनाउने देश अहिले पछाडि परेकोे उदाहरण समेत प्रधानमन्त्रीले दिए । यसका साथै उनले वैज्ञानिकहरुलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सिन पनि आग्रह गरे । यसबाट प्रेरणा लिँदै देशलाई हर क्षेत्रबाट अघि बढाउन आह्वान गरे । सभालाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं नास्टका सह–कुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्तिविकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकीसँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशील रहेको बताए । यसपटक नेपालको पहिलो भूउपग्रह नेपाली स्याट– १ सँग सम्पर्क स्थापना गर्न प्रतिष्ठानमा नियन्त्रण केन्द्र स्थापना गरिएको जानकारी पनि उनले दिए । । निकट भविष्यमा भवन अनुसन्धान केन्द्र, अन्तरिक्ष अनुसन्धान केन्द्र तथा परम्परागत प्रविधि केन्द्र स्थापना गर्न गृहकार्य अघि बढाइएको जानकारी पनि उनले गराए ।
सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटन गराउन विभिन्न १२ विधामा स्थापना गरेका पुरस्कारहरुको समेत निर्णय गरेको छ । यस अनुसार डा. शेरबहादुर पुन, अनुपकुमार श्रेष्ठ, रेशमा तुलाधर, गोविन्द प्रसाद पोखरेल तथा नातिकाजी महर्जनलगायतका विज्ञान प्रविधिसम्बद्ध व्यक्तित्वहरुलाई पुरस्कृत गरिनेछ । यसै गरी आगामी वर्षदेखि कृषिसम्बन्धी वैज्ञानिक कार्यका लागि समेत पुरस्कार दिइने निर्णय सभाले गरेको छ ।