काठमाडौं ।
मुक्तिनाथ विकास बैंकको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले एक हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुनआउने एक अर्ब २५ करोडबराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४–०८५’ निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
डिबेन्चर बिक्री प्रबन्धक सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । एक अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ व्यक्तिगत तवरमार्फत र ४० प्रतिशत अर्थात् ५० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरिनेछ । अर्धवार्षिकरूपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि सात वर्षको हुनेछ ।
ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिनेछ । हाल नेपालमा दीर्घकालीन लगानीको लागि वित्तीय साधनहरू अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीनरूपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुनेलगायतका दृष्टिकोणबाट दीर्घकालीन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धित सबैमा हामी हार्दिक अपिल गर्दछौं, बैंकले भनेको छ ।