काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान सफल पार्न हातेमालो गरी अघि बढ्नुपर्ने बताएका छन् । राजधानीमा बिहीबार आयोजित नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्र र नागरिक मिलेर सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान सफल पार्नुपर्ने बताएका हुन् ।
यस्तै आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्दै रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनको भनाइ छ । ‘निजी क्षेत्रको जेठो संस्थाको नेतृत्वमा लामो समयसम्म रहँदा चेम्बरलाई जुन उचाइमा पु-याउन सकेँ, मुलुकको शासकीय स्वरुप र शासन प्रणालीअनुसार चेम्बरलाई पनि अघि बढाउन सफल भएँ ।
यसको श्रेय म सम्पूर्ण चेम्बर सहकर्मी, निजी क्षेत्र र नेपाल सरकारलाई दिन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘सबैको साथ र सहयोगकै कारण नेपाल चेम्बर आज नीतिनिर्माणदेखि व्यवसायीका समस्यामा सहजीकरण, प्रवर्द्धन तथा भोलिको सुनौलो भविष्यका किरण देखाउने सारथि बनेको छ । व्यवसायीको प्रतिनिधिमूलक संस्था भए पनि चेम्बर नेपाली समाजलाई संकटमा पर्दा मल्हमपट्टी लगाउने सामाजिक संस्था पनि हो ।’ सोही अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजी क्षेत्रका संस्थाहरुका माग तथा चासोलाई नीतिनिर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।
वार्षिकोत्सवको अवसरमा अध्यक्ष राजेशकाजी श्रेष्ठले आधुनिक नेपालको इतिहासमा सात दशकसम्म निरन्तर सक्रिय र आर्थिक सामाजिक रुपान्तरणका लागि चेम्बरले सरकारसँग सधैं हातमा हात मिलाएर अघि बढिरहेको बताए । ‘आजको दिन आफैँमा ऐतिहासिक पनि छ । हाम्रा अग्रजहरूले सात दशकअघि जुन परिकल्पनाका साथ चेम्बर स्थापना गर्नुभएको थियो, त्यसलाई मूलमन्त्र मानेर हामी अघि बढिरहेका छौँ’, उनले भने, ‘नेपाल सरकार, नेपाली जनता तथा देशविदेशबाट हामीलाई प्राप्त स्नेह, सद्भाव तथा विश्वासको जगमा हामी आज सिंगो मुलुकले गर्व गर्नलायक संस्थाका रुपमा स्थापित भएका छौँ ।’
उनले अघि भने, ‘निजी क्षेत्रको धरोहरका रुपमा रहेको नेपाल चेम्बर अफ कमर्स अहिले सरकारका लागि विश्वासिलो साझेदार तथा नेपाली जनताका लागि उन्नत भविष्यको सारथिका रुपमा पहिचान बनाएको सुनाउन पाउँदा हामीलाई गर्व महशुस हुन्छ । सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियान मूलतः नेपाल चेम्बर र चेम्बरजस्तै संस्थाहरूसँगको सहकार्यविना पूरा हुनसक्दैन । त्यसैले आजको दिनमा निजी क्षेत्र र सरकारबीच कुनै सीमारेखा कोरिरहनु आवश्यक छैन भन्ने हाम्रो बुझाइ हो ।
सिक्का अनावरण, स्मारिका विमोचन : प्रधानमन्त्रीले उक्त अवसरमा चेम्बरको ७०औँ वार्षिकोत्सवको अवसरमा तयार गरिएको चाँदीको सिक्का अनावरण तथा चेम्बर स्मारिका २०७७ विमोचन गरे । स्मारिकामा नेपालको उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित विभिन्न लेखरचना संग्रहित छन् । चेम्बर कार्यसमिति सदस्य एवं सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डेले स्मारिका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत उद्यमी व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीले सम्मानपत्र तथा कदरपत्र प्रदान गरेका थिए ।