बेइजिङ ।
अमेरिकी वाणिज्य विभागले बिहीबार चिनियाँ सुपर कम्प्युटिङ संस्थालाई आर्थिक प्रतिबन्ध लगाएको छ । चिनियाँ सेनालाई सहयोग पु-याएको आरोप लगाउँदै अमेरिकाले सातवटा चिनियाँ सुपर कम्प्युटिङ संस्थालाई कालोसूचीमा राखेको रोयटर्सले जनाएको छ ।
अमेरिकी विभागले टियान्जिन फिटियम इन्फरमेसन टेक्नोलोजी, शांघाई हाई पर्फरमेन्स इन्टिग्रेटेड सर्किट डिजाइन सेन्टर, सनवे माइक्रोइलेक्ट्रोनिक्स, द नेशनल सुपर कम्प्युटिङ सेन्टर जिनान, द नेशनल सुपर कम्प्युटिङ सेन्टर वुसी र द नेशनल सुपर कम्प्युटिङ सेन्टर झेंग्झोलाई कालोसूचीमा राखेको हो ।
विभागले यी साात संस्थाले बनाएका सुपर कम्प्युटर चीनको सेनाले प्रयोग गरिरहेको आरोप लगाएको छ । यसले ठूलो विनाशकारी कार्यक्रमका लागि हतियार, सैन्य आधुनिकीकरणमा मद्दत मिल्नसक्ने विभागको भनाइ छ । यो सूचीमा परेका संस्थाले अब अमेरिकी आपूर्तिकर्ताबाट केही वस्तु लिन चाहे विभागबाट लाइसेन्स लिनुपर्नेछ ।
यो नयाँ नियम तत्कालै लागू हुने भए पनि रुटमा रहेका सरसामानको हकमा लागू हुनेछैन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दर्जनौँ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएका थिए । त्यसमा स्मार्टफोन निर्माता हुवावे, चिपनिर्माता एसएमआईसी र ड्रोन उत्पादक एसजेट डीजेआई टेक्नोलोजी कम्पनी लिमिटेड समेत समावेश छन् ।