काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताल क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकका अनुसार प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पस मेसिन हस्तान्तरण गरिएको हो । प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहलाई उक्त समारोहमा बिहीबार क्यूआर कोड र पस मेसिन मेसिन हस्तान्तरण गरेका हुन् ।
प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरूले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्यूआर कोड र पस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् । सो समारोहमा प्रहरी महानिरीक्षक क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवतासम्बन्धी पुनित कार्यमा रक्तसञ्चार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ सेवा दिन बैंक सधैँ तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरूले अब नगद बाकेर हिँड्नु नपर्ने जानकारी गराए । विसं २०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरू तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राविधिक प्रहरी नायब महानिरीक्षक डा. रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्वप्रहरी महानिरीक्षकहरू, अस्पतालका पूर्वमेडिकल डाइरेक्टरहरू, उच्च प्रहरी अधिकृतहरू, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारीहरूलगायतको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।