काठमाडौं ।
बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार रकम घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीहरुले कुल चार खर्ब ८९ अर्ब ६५ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र तीन खर्ब ६० अर्ब ८५ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब २८ अर्ब ८० करोड रुपैयाँ समेत गरी उक्त परिमाणमा अन्तरबैंक कारोबार गरेका हुन्, राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले ११ खर्ब ५९ अर्ब ४६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । उक्त अवधिमा वाणिज्य बैंकहरुले मात्र १० खर्ब ५९ अर्ब नौ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब ३७ करोड रुपैयाँ समेत गरी उक्त परिमाणमा अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ । सोही आधारमा वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७६ माघमा चार दशमलव ५९ प्रतिशत रहेकोमा २०७७ माघमा शून्य दशमलव ५८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तरबैंक ब्याजदर २०७७ माघमा शून्य दशमलव ५९ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरुको औसत आधारदर २०७६ माघमा नौ दशमलव ४५ प्रतिशत रहेकोमा २०७७ माघमा छ दशमलव ९७ प्रतिशत कायम भएको छ । २०७७ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ८६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ८९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः छ दशमलव ७८ प्रतिशत र ११ दशमलव ९४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २०७६ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर तीन दशमलव ९१ प्रतिशत रहेकोमा २०७७ माघमा एक दशमलव १३ प्रतिशत रहेको छ ।