काठमाडौं ।
राज्यको ऐन कानुनलाई बेवास्ता गर्दै विना स्वीकृत औषधिको उत्पादन गरी वितरण गर्दै आएको ॐ श्री त्रिकुटा गुरुधाम नेपालविरुद्ध औषधि व्यवस्था विभागमा उजुरी परेको छ । प्युठानका ज्ञानेन्द्रबहादुर गुरुङ उर्फ स्वघोषित परमगुरुदेव त्रिकुटेश्वरानन्दको समेत संलग्नतामा ‘ब्रह्मदृष्टि र परमकृपासहित परमगुरुदेव श्री त्रिकुटेश्वरानन्दज्यूबाट प्रतिपादित’ भन्दै सो गुरुधामले विना अप्रेसन सस्तो, सुलभ र कम खर्चमा क्यान्सर, मिर्गौलादेखि कब्जियत, कोरोना, गानोगोला, ग्यास्ट्रिक, पेटको अल्सर, पायल्स, फिस्टोला, मोटोपना, यूरिक एसिड, थाइराइड, आमासय, लिबर, अपेन्डिक्स, मुटुलगायतका विभिन्न रोगको अचुक उपचार हुने भन्दै अवैध औषधिको खुलेआम वितरण गर्दै आएको थियो ।
पशुपति क्षेत्र विकास कोषका उपनिर्देशकसमेत रहेका रेवतीरमण अधिकारीले नाम बदलेर विशुद्धानन्द उपनामबाट सञ्चालित सो संस्थाले विना स्वीकृत उत्पादन गरिएका अवैध औषधि ह्याण्ड स्यानिटाइजर, लोथन, कस्मिक एनर्जी आयुर्वेदिक मालिस तेल, कायामृत कवच, उदर अमृत (डाइजेष्टिभ ब्रेनको सर्वोत्तम औषधि), करुणा चियामत, बिटुआईबी (मोटोपना घटाउने) लगायतका औषधिहरुको उत्पादन गरी खुलेआम वितरण गर्दै आएको छ ।
उक्त गुरुकुलविरुद्ध अवैध रुपमा उत्पादन गरिँदै आएका औषधिहरुबाट हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गरीे सो संस्थामाथि आवश्यक छानबिन गरी कारवाही गरिपाऊँ भन्दै गत चैत २२ गते औषधि व्यवस्था विभागमा उजुरी परेको हो । दर्ता नंं. ११४३१ रहेको सो उजुरी उपर छानविन भइरहेको विभागका प्रवक्ता सन्तोष केसीले बताए ।