काठमाडौं ।
शनिबार राजधानीमा आयोजित एक भव्य समारोहबीच समाजसेवी सुचेनमान माली सम्मानित भएका छन् । गोधूली साहित्यिक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा विगत लामो समयदेखि सञ्चालक रहँदै आएका मालीलाई अमरमानसिंह मास्के सम्मानद्वारा सम्मानित गरिएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री दावा तामाङले समाजसेवी मालीलाई सम्मानपत्र प्रदान गरेका थिए । पशुपति गुरुङले स्वागत गरेको तथा गोधूली साहित्यिक प्रतिष्ठानका अध्यक्ष प्रकाश घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा मन्त्री तामाङले बाल साहित्यकार मुक्तिनाथ शर्मा न्यौपानेलाई अभिनन्दन गरेका थिए । साथै मन्त्री तामाङले समाजसेवी मालीलगायत दिल्लीबहादुर सिंह, हर्कबहादुर वराईली, सरस्वती गौतम, रुद्रसेन विश्वकर्मा, रेणुका गुरुङलगायतलाई सम्मानित गरेका थिए ।
साथै उनले सावित्री थापा, बलराम कोइराला र सतिश चुडाललाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा मन्त्री तामाङले उज्वलराज भट्टराईद्वारा लिखित अलिकति तरङ्ग अति धेरै भाव कविता संग्रह र घातानन्द शर्मा गैरेद्वारा लिखित वन सुमन हाइकु संग्रहको विमोचन पनि गरेका थिए । (आर्थिक दैनिकबाट)