नयाँ दिल्ली ।
भारतीय रिजर्ब बैंकले मोबाइल वालेटजस्ता प्रिपेड इन्स्ट्रुमेन्टबाट पनि नगद निकाल्न र मर्चेन्ट पेमेन्ट गर्नलाई अनुमति दिएको छ । केन्द्रीय बैंकले यी प्रिपेड इन्स्ट्रुमेन्टलाई केन्द्रीय भुक्तानी प्रणाली आरटीजीएस र एनईएफटीको हिस्सा बन्न स्वीकृति दिएको नवभारत टाइम्सले जनाएको छ । नयाँ नियमसँगै अब मोबाइल वालेटहरु बैंककै बराबर अवस्थामा आएका छन् । यद्यपि यस्ता प्रिपेड इन्स्ट्रुमेन्टको खाता नम्बर पनि छैन र एटीएम पनि छैन । तर मोबाइल वालेटबाट अब एटीएमकै माध्यमद्वारा पैसा निकाल्न सकिनेछ ।
वालेट कम्पनीहरुले आफ्ना ग्राहकको लागि प्रिपेड कार्ड जारी गर्नेछन् । ती कार्ड प्रयोग गरेर एटीएमबाट पैसा निकाल्न सकिने बताइएको छ । कार्ड मर्चेन्ट स्टोरमा स्वाइप गरेर भुक्तानी पनि गर्न सकिनेछ । रिजर्ब बैंकले सन् २०१८ मा मोबाइल वालेट्सको इन्टरअपरेबिलिटीलाई लिएर कार्यविधि जारी गरेको थियो । यहीअनुसार वालेटले यूपीआईको माध्यमबाट नगद र भिसा प्लेटफर्ममा पैसा ट्रान्सफरको सुविधा दिइएको थियो । अहिलेसम्म यो वैकल्पिक थियो । यसलाई केही वालेटले मात्रै अपनाएका थिए । तर पछिल्लो मौद्रिक नीतिअनुसार रिजर्ब बैंकले यसलाई सबै प्रिपेड इन्स्ट्रुमेन्टको लागि अनिवार्य गरिदिएको हो ।
तीनवटा चरणमा यो सम्भव हुने देखिएको छ । पहिला सबै वालेटलाई यूपीआईमा जानु अनिवार्य हुनेछ । दोस्रो चरणमा वालेट्सले प्रयोगकर्तालाई यूपीआईको प्रयोग गरेर कुनै बैंक खाताबाट पैसा ट्राअन्सफर गर्ने सुविधा दिनुपर्नेछ । त्यस्तै तेस्रो चरणमा प्रिपेड इन्स्ट्रुमेन्टलाई कार्ड जारी गर्ने अनुमति दिनुपर्नेछ । केही कम्पनीले कार्ड जारी गर्न सुरु नै गरिसकेका छन् ।