काठमाडौं ।
मेगा बैैंक नेपाल लिमिटेडको क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्साचालकहरू हर्षित भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौताबमोजिम बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरूले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्साचालकहरू खुसी भएका हुन् ।
नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैैंकको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमबीच क्यूआर कोड हस्तान्तरण गर्दा रिक्साचालकहरू निकै खुसी भएका थिए । बैंकसँग कारोबार गर्न पाउनु आफूहरूको लागि निकै गर्वको कुरा भएको बताउँदै उनीहरूले मेगा बैंकलाई धन्यवाद पनि दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख निर्देशक सुशील ज्ञवाली, मेगा बैैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझा, बजार विभाग प्रमुख बरुण शाह, मेगा बैैंक नेपाल लिमिटेड धनगढी शाखाका शाखा प्रबन्धक होमेन्द्र उपाध्यायको उपस्थिति थियो ।
यो व्यवस्थासँगै अब धनगढीका रिक्सामा यात्रुहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत भाडा रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैंकको नीतिबमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको छ ।
क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्तहरूको आकर्षण बढ्दै गइरहेको मेगाले जनाएको छ । यसका साथै स्वरोजगारमूलक काम गरिरहेका न्यून आय भएका रिक्साचालकहरूको रकम सिधै बैंक खातामा बचत हुने भएकाले रकम बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने बैंकको विश्वास छ ।