काठमाडौं ।
नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी रिजाल पुर्पक्षको लागि चलान भएकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले दिएको जानकारीअनुसार यही चैत २२ गते पक्राउ परेकी रिजाललाई यही चैत ३० गतेको काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जगन्नाथ देवल सुन्धारा महिला बन्दीगृहमा थुनामा पठाइएको हो ।
प्रवक्ता बस्नेतका अनुसार रिजालविरुद्ध उनकै आमा शोभा रिजालले जाहेरी दिएकी थिइन् । ‘सोही जाहेरीको आधारमा वादी नेपाल सरकार र प्रतिवादी रेग्मी रिजाल समेत भएको ज्येष्ठ नागरिकसम्बन्धी कसुर मुद्दामा प्रतिवादी रिजाललाई काठमाडौं जिल्ला अदालतको चैत ३० गते सोमबारको आदेशले पुर्पक्षको लागि जगन्नाथ देवल सुन्धारा महिला बन्दी गृहमा थुनामा पठाइएको हो’, प्रवक्ता बस्नेतले भने ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार रेग्मीलाई यही चैत २२ गते आइतबार काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको थियो । उनीविरुद्ध उनकै ८४ वर्षीया आमाा शोभा रिजालले जाहेरी दिएकी थिइन् । एसएसपी सिंहका अनुसार रेग्मीविरुद्ध पहिला नै परिसरमा विभिन्न गुनासाहरु आएका थिए । सो विषयमा पटक–पटक उनलाई परिसरमा बोलाएर आमासँग समेत राखेर सम्झाइ बुुझाइ गरेको, छलफल गरेको भए पनि आमाको सम्पत्ति हडपे पछि हेरचाह गर्न तयार नभएपछि आमा रिजालकै जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको एसएएपी सिंहले बताए ।
परिसर प्रमुख सिंहका अनुसार पक्राउ परेकी रेग्मीले रिजालको माछापुच्छ्रे बैंकको लकरमा रहेको गरगहना, सिर्जना फाइनान्स, विभिन्न सहकारी संस्थाहरु रहेको सेयर समेत गरी झण्डै तीन करोड रुपैयाँभन्दा बढी सम्पत्ति हडपेको देखिएको थियो । ‘व्यक्ति जुनसुुकै होस्, पद जुनसुकै होस्, एउटा जिम्मेवार नागरिकले आफ्नो ८४ वर्षीय आमाप्रतिको दायित्व पूरा नगरेको र उल्टै उनको करोडौँको सम्पत्ति हडपेर पनि बेवास्ता गरेको देखियो’, परिसर प्रमुख सिंहले भने । पक्राउ परेकी रेग्मीविरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसुरमा अनुसन्धान भएको थियो । उनलाई चैत २२ गते नै काठमाडौं जिल्ला अदालतबाट दुई दिनको लागि म्याद थप गरिएको थियो ।