काठमाडौं ।
नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट–पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतामा नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुुन् ।
बैंकले आफ्ना व्यासायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैँले फन्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएस मा रियल टाइम वा ननरियल टाइममा भुक्तानी कारोबारहरू गर्न सकिनेछ ।
कर्पोरेट–पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यसपश्चात् भने ग्राहकका प्रयोगकर्ताहरू आफैँले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना नै गर्न सक्दछन्, भने सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेकजाँचपछि प्रोसेस हुने व्यवस्था रहेको छ ।
यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टीकेसनको सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र अप्रुभ गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै ग्राहकले आवश्यक्ताअनुरूप यो प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
बैंकले सदैव आफ्ना ग्राहकहरूका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरू प्रदान गर्दै आएको छ र यस कर्पोरेट–पे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरूलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । यो प्रणालीको प्रयोग र विस्तारपछि बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाइन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।