काठमाडौं ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले सात सय ४९ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको आठ महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या चार मात्र रहेको छ । जसमध्ये ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका, धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी चारवटा जिल्लाको चार स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी देखिएको छ ।
राष्ट्र बैकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या भने यस अवधिमा एक सय ४३ कायम भएको छ । सोअनुरुप २७ वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १९ विकास बैंक, २० फाइनान्स कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७७ फागुन मसान्तसम्ममा कुल दुई सय १३ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ६१ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ५२ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने १० हजार चार सय ३० पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार छ सय ३२, विकास बैंकहरुको एक हजार ६९, फाइनान्स कम्पनीहरुको दुई सय ५६ र लघुवित्त वित्तीय संस्थाहरुको चार हजार चार सय ७३ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो भने २०७७ असार मसान्तमा यस्तो संख्या नौ हजार सात सय ६५ रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७७ को फागुन मसान्तसम्ममा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ ।
वाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा भने ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेका छन् ।