काठमाडौं ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट हटाइएका रामबहादुर थापा मगर (बादल) पुनः गृहमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले)का नेता थापालाई आइतबार गृहमन्त्रीमा पुनः नियुक्त गरेकी हुन् । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ ।
नेकपा (एमाले) संसदीय दलका नेता ओलीको नेतृत्वमा वि.सं. २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि गृहमन्त्री थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट वि.सं. २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।
राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आइतबार स्वीकृत गरेका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको थियो ।