काठमाडौं ।
भारतबाट नेपाल फर्किने नेपालीहरुको ताँती सिमानामा लाग्नथालेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि भारतमा रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा ताँती लागेको हो । भारतको मुम्बई, दिल्ली, महाराष्ट्र, गढवाललगायत भारतीय सहरबाट दैनिक ठूलो सङ्ख्यामा नेपाली घर फर्किने गरेका छन् । भारतबाट नेपाल फर्किएकामध्ये ६० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको सङ्ख्यामा नेपाली घर फर्किने गरेको नेपालगञ्जबाट प्राप्त समाचारमा जनाइएको छ ।
शनिबार मात्रै दुई हजार तीन सय ७२ नेपाली भारतबाट फर्किएका छन् । भारतबाट नेपाल फर्किएकामध्ये एक हजार दुई सय ९५ कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् । भारततर्फ जाने सङ्ख्या भने घटेको छ । शनिबार दुई सय ९९ व्यक्ति भारततर्फ गएका छन् । तीमध्ये कतिपय नेपाली औषधोपचारका लागि गएका छन् भने भारत जानेमा अधिकांश भारतीय नागरिक नै रहेका छन् । भारतमा कोरोना बढेपछि नेपालगञ्जबाट रुपैडिहा किनमेलका लागि जान रोक लगाइएको छ ।
यसैबीच, नेपालमा आइतबार मात्र थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ८४ नमूनाको पीसीआर परीक्षण र छ सय ९९ जनाको एन्टिजेन परीक्षण भएको थियो । यसमध्ये पीसीआर विधिबाट एक हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८४ हजार छ सय ७३ पुगेको छ ।
कुल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र चार सय ३५ जना छन् । तीमध्ये भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौँमा तीन सय २६ जना छन् । मन्त्रालयका अनुसार हाल देशभर छ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित छन् । त्यस्तै संस्थागत आइसोलेसनमा पाँच सय ७६ जना र होम आइसोलेसनमा पाँच हजार सात सय १४ जना छन् । यस्तै देशभर एक सय १६ जना आईसीयू र ४६ जना सङ्क्रमित भेन्टिलेटरमा उपचारत छन् ।
गत २४ घण्टामा दुई सय ६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार तीन सय पुगेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर ८५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ८३ जना पुगेको छ ।
प्रदेश १ मा ४३ सङ्क्रमित : आइतबार प्रदेश नं १ मा ४३ जना कोरोना सङक्रमित थपिएका छन् । सो अवधिमा तीन सय ३४ को पीसीआर परीक्षण गरिएको थियो । थपिएका सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १२ महिलासहित २७, सुनसरीमा ६, झापामा एक र प्रदेशबाहिरका सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार छ सय ४७ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ६६ रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीय महिलाको आइतबार उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रसित रहेकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शनिबार अस्पताल भर्ना गराएका थिए । (आर्थिक दैनिकबाट)