काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सो अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउनेछ ।
ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । चालू आवको दोस्रो चौमासिकमा उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।
यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।
यसैबीच, नेपाल राष्ट्र बैंकले वैशाख ७ गते अर्थात् आज सोमबार पुनः पाँच अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत ३० गते पनि राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
यस्तै, राष्ट्र बैंकले जारी मिति वैशाख ७ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको २० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ साउन ४ गते र २०७८ कात्तिक २ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री हुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत हो ।
यसअघि गत साता अर्थात् चैत ३० गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार सोमध्ये ९१ दिने अवधिको आठ अर्ब रुपैयाँबराबरको ट्रेजरीको लागि १७ अर्ब ८० करोड र एक सय ८२ दिने दुई अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरीको लागि १० अर्ब ५२ करोड रुपैयाँबराबरको बोलकबोल परेको थियो ।