काठमाडौं ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुुरुङको राजीनामा स्वीकृत भएको छ । बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृत गुुरुङले दिएको राजीनामा बैंक सञ्चालक समितिको यही वैशाख पाँच गते आइतबार बसेको सञ्चालक समितिको तीन सय ४०औं बैठकले स्वीकृत गरेको हो ।
बैंकका अनुसार गुुरुङको राजीनामा यही वैशाख १८ गतेदेखि कार्यान्वयमा आउनेगरी स्वीकृत गरिएको हो । रिक्त रहेको प्रमुख कार्यकारी गुरुङको ठाउँमा दोस्रो निर्णय नभएसम्मको लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कामु प्रमुख कार्यकारीको पदमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ तथा बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नायब प्रमुख कार्यकारी अधिकृतदेखि प्रमुख कार्यकारी अधिकृतको हैसियतले बैंकमा पु-याएको योगदानको उच्च कदर गर्दै उनलाई हार्दिक धन्यवाद तथा नेपालबाट विदेशी बैंकको पहिलो प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गर्ने अवसर पाएकोमा बधाई दिँदै कार्यसफलताको शुभकामना दिँदै उनको उज्ज्वल भविष्यको लागि कामना गरे ।
बैंकले चालू आवमा व्यावसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरूमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिए । तर यसबीचमा बैंकका लगानीकर्ताहरूले भने सिभिल बैंकका केही लगानीकर्ताहरू आर्थिक संकटमा परेको र त्यसको असर बैंकलाई समेत पर्ने भए पनि अर्को ठाउँमा काम भएको भन्दै बैंकसँगको पूर्ववत सम्झौता तोडेर गुरुङ सुटुक्क गएको आरोप समेत लगाएका छन् ।