विराटनगर ।
उद्यमशीलता विकास तथा उत्पादकत्व अभिवृद्धिका लागि नविन इनोभेसन तथा स्टार्टको भूमिका एवं नवप्रवर्द्धनात्मक सोचहरुलाई व्यावसायिक उद्यमशीलता भन्ने उद्देश्यले उद्योग संगठन मोरङले राष्ट्रिय आविष्कार केन्द्रसँग एक बृहत् छलफल कार्यक्रम आयोजना गरेको छ ।
उद्योग एवं व्यवसायको उत्पादकत्व एवं प्रभावकारिता बढाई उत्पादन लागत कम गर्ने उद्देश्यका साथ नविन आविष्कार र प्रविधिलाई उद्योगमा प्रयोग गर्न सकिने सम्भावना रहेको तर्क स्थानीय उद्योगी एवं व्यवसायीको छ । त्यस्ता सोचहरुलाई व्यावसायिक रुपान्तरण गर्न र अनुसन्धानको निरन्तरताका लागि सम्भावित लगानीकर्ताहरुको खोजी गर्न नवीनतम सोचहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ उद्योग संगठन मोरङले इनोभेसन एवं स्टार्ट अप इकाइको स्थापना गर्न नयाँ मार्गप्रशस्त हुने संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।
उनले संगठनअन्तर्गत गठन भएको स्टार्ट अप तथा इन्नोभेसन समितिमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रमुख सल्लाहकारका रुपमा मनोनयन गरी राष्ट्रिय आविष्कार केन्द्रका साथ सहकार्य अघि बढाएको जानकारी दिए ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले नेपालको सन्दर्भमा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गरी आविष्कार व्यापार घाटा कम गर्न मद्दत गर्न सबै प्रकारका नविन व्यावसायिक प्रविधिहरुको उपयोग आजको आवश्यकता रहेको बताए ।
पुनले अनुसन्धानका लागि गर्नुपर्ने खर्च व्यवस्थापन गर्न विकसित राष्ट्रहरुले जस्तै राज्यले कुल गार्हस्थ्य उत्पादनको कम्तीमा एक प्रतिशत रकम छुट्याई कोष स्थापना गर्ने र आवश्यक नीति, नियम र कार्यविधि बनाई तत्काल काम गर्नुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष पुनले उद्योग व्यवसायका साथै बैंकिङ क्षेत्रले खोज तथा अनुसन्धानको क्षेत्रलाई प्रोत्साहित गर्न सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याएको एक प्रतिशत रकमबाट इन्नोभेसनमा खर्च गर्न पाउनुपर्ने कानुनी व्यवस्थाका लागि सबै उद्योगी तथा व्यवसायीले व्यापक रुपमा पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उद्योग संगठन मोरङले उद्योगमा नविन आविष्कारहरुको प्रयोगका साथै नया सोचहरुलाई व्यावसायिकतामा रुपान्तरण गर्न सुरु गरेको यो अभियानमा राष्ट्रिय आविष्कार केन्द्रले सहकार्य गर्ने समेत उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा संगठनका सदस्य तथा स्टार्ट अप तथा इन्नोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले नयाँ प्रविधिको विकास, क्षमता भएर पनि आर्थिक अभावमा प्रवर्द्धन हुन नसकेको बताए । नवीनतम अवधारणाहरुलाई संगठनले सहयोग पु-याउने उनको भनाइ थियो ।
वैज्ञानिक, अन्वेषक, उत्प्रेरकका साथ भएको छलफलले आगामी दिनमा संगठनलाई यस क्षेत्रमा थप उत्साहित भएर कार्य गर्न ऊर्जा प्राप्त भएको संयोजक गोल्छाले वताए । उक्त कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल, कोषाध्यक्ष बिपिन कावरा,समिति सदस्य पारस लुनिया र इन्द्र खत्री राजनलगायत सहभागी थिए ।