अमेरिका ।
सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न छुट दिएको छ । अन्य प्रविधि कम्पनीले यसबारे नसोचेको बेला फेसबुकले यसो बताएको बीबीसीले जनाएको छ । कतिपय कर्मचारीले स्थायी रुपमा घरबाटै काम गर्न सक्ने पनि फेसबुकले जनाएको छ । तर त्यसका लागि व्यवस्थापकबाट अनुमति भने लिनुपर्नेछ ।
गत वर्ष सिलिकन भ्यालीका कार्यकारीहरुले कर्मचारीलाई घरबाटै काममा लगाएका थिए । कतिपय कम्पनीहरु घरबाटै काम गर्ने प्रचलनलाई महामारीपछि पनि निरन्तरता दिन चाहिरहेका छन् । गत मे महिनामा फेसबुक प्रमुख मार्क जुकरबर्गले आगामी पाँचदेखि १० वर्षमा ५० प्रतिशत कर्मचारीले घरबाटै काम गर्नसक्ने अनुमान गरेका थिए । सोही बेला ट्विटरका ज्याक डोर्सेले पनि आफ्ना कर्मचारीले सधैँका लागि घरबाटै काम गर्नसक्ने बताएका थिए ।
अक्टोबरमा भएको एक सम्मेलनमा माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्या नाडेलाले निजी जीवन र कार्यक्षेत्रको जीवनको भिन्नता नहुँदा कहिलेकाहीँ काममै सुतिरहेजस्तो लाग्ने ठट्टा गरेका थिए । गत महिना गुगलले आफ्ना कर्मचारीलाई पुनः कार्यालयमा बोलाउने समय निर्धारण गर्न लागिपरेको बताएको थियो । कोरोनाकालमा धेरैजसो कम्पनीका कर्मचारीले घरबाटै काम गरेका थिए । (आर्थिक दैनिकबाट)