रियो दि जेनेरिया ।
ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार छ सय ५७ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा एक हजार छ सय ५७ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको हो ।
योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या तीन लाख ७३ हजारभन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ४२ हजार नौ सय ८० जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
पछि यहाँ कुल संक्रमितको संख्या यहाँका एक करोड ३९ लाख ४३ हजार भन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिनप्रतिदिन बढ्दै गएको छ ।
यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप देखिएपछि यहाँका नागरिकमा संक्रमण हुने र मृत्युको दर पनि बढिरहेको अधिकारीहरुले जनाएका छन् । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख जनामा पाँच हजार चार सय ८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका संक्रमितहरुमा पनि पहिलेभन्दा धेरै नागरिकको ज्यान जाने गरेको पनि बताइएको छ ।
ब्राजिलको साओ पाओलो सहर सुरुदेखि नै यो संक्रमणको एक किसिमले केन्द्रविन्दुको रुपमा रहेको छ । यस सहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब पूरैजसो आईसीयू र आकस्मिक कक्षहरु भरिएका पाइएको छ । यो वर्षको सुरुवातसँगै यहाँका नागरिकले कोरोनाको दोस्रो वेभको संक्रमणको सामना गर्नु परिरहेको छ । यो वेभले यहाँको स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न गरिरहेको अधिकारीहरुले जनाएका छन् । (रासस/सिन्ह्वा)