काठमाडौं, पुस २८
कृषि विकास बैंकको लाभांश पारित भएको छ । बैंकको आइतबार सम्पन्न भएको १३औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको २४ (करसहित) प्रतिशत नगद लाभांश र छ प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको हो । बैकले आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आइतबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । बृहत् कार्यसञ्जालद्वारा आफ्ना वस्तु तथा सेवाहरूलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा दुई सय ७४ वटा शाखाहरूबाट आधुनिक बैकिङ सेवा पु-याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी अधिकृत पुँजी भएको बैंकको १३औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैंकको करिब दुुई लाख ५७ हजारको संख्यामा रहेका सेयरधनीहरूलाई उक्त साधारणसभाले उत्साहजनक प्रतिफल वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । साथै सभामा वक्ताको रूपमा भाग लिएका सेयरधनीहरूले उठाएका जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्पष्ट पार्नुका साथै सेयरधनीहरूबाट प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरे । सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको उक्त साधारणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू झक्कप्रसाद आचार्य, रघुराम विष्ट, सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुराँगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति रहेको थियो । सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।