काठमाडौं ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्तिपश्चात् ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, कास्कीबाट एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेको छ ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि. सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाको अध्यक्षता र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले गरेका थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई संयुक्त प्राप्ति समितिका संयोजक एवं वित्तीय संस्थाका सञ्चालक रूपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।
एकीकृत कारोबारपश्चात् वित्तीय संस्थाको कुल चुक्ता पुँजी ४३ करोड १७ लाख २० हजार चार सय ११, कुल कर्जा लगानी छ अर्ब १४ करोड ६३ लाख १० हजार, निक्षेप÷बचत दुुई अर्ब तीन करोड ६९ लाख ४९ हजार छ सय २० रुपैयाँ पुुगेको छ । मर्जरपश्चात् संस्थाको देशका विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरूमार्फत वित्तीय सेवा प्रदान गर्नेभएको छ ।
साथै, वित्तीय संस्थाको कुल ग्राहक सदस्यहरू एक लाख २३ हजार चार सय १३ जना रहेका छन भने ६३ हजार दुई सय ९० जना ऋणी सदस्यहरूले विभिन्न शीर्षकअन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेका छन् ।
सो कार्यक्रमका प्रमुख अतिथि रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा डुप्लीकेसन समस्या रहेको र त्यसको निराकरणको उपायमध्येको एक उपाय मर्जर तथा प्राप्तिले डुप्लीकेसनमा कमी हुने बताए । यस कार्यले सफल र सुदृढ संस्था हुन तथा नेपाल राष्ट्र बैंकको नीतिलाई पनि सहयोग पुग्ने बताए ।