काठमाडौं ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ (साबिकको जिलिङ गाविस)बाट निर्माण सुरु भएर धादिङको धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिन पुग्ने दुईलेनको लोकसञ्चार मार्गमा शनिबारदेखि कालोपत्रे सुरु भएको छ ।
डीबीएसटी प्रविधिको उक्त कालोपत्रे सडक दश मिटर चौडाइको छ । दश मिटरको चौडाइको उक्त सडकमा करिब आठ मिटर कालोपत्रे हुनेछ । पहिलो चरणमा साढे आठ किलोमिटर सडक चौडाइ गर्ने योजना रहेको सडक डिभिजन नुवाकोटका प्रमुख नारायणदत्त भण्डारीले बताएका छन् ।
सडक कालोपत्रे सुरु भए पनि विगतमा पूरा भएको कामको भुक्तानी पनि अर्थ मन्त्रालयले रोकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त सडकको दायित्वबापतको १७ करोड २५ लाख रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयसँग गत फागुन १६ गते नै रकम निकासाका लागि पत्राचार गरे पनि अझै रकम नपठाएको सडक डिभिजन नुवाकोटका इन्जिनियर राम प्रसाद पौडेलले बताए ।
विगतको दायित्व बाँकी हुँदाहुँदै पनि निर्माण कम्पनीलाई अनुरोध गरेर कालोपत्रेको काम सुरु गरिएको शनिबार फिल्डमा भेटिएका सडक डिभिजन नुवाकोटका अर्का इन्जिनियर दिलिप साहले जानकारी दिए । ‘यो गर्मी र पानी नपरेको मौसममा मौका छोपेर पिच गर्न सकिएन भने पहाडको उकालो सडकमा लामो समयसम्म पिच टिकाउनै सकिँदैन’, इन्जिनियर साहले आर्थिक दैनिकसित भने, ‘साउन लागेपछि लोकसञ्चार मार्गको अहिले कालोपत्रे हुन लागेको सडकको ठेक्काको एक पैसा पनि निर्माण कम्पनीलाई भुक्तानी दिन सकिएको छैन । तर, पनि हाम्रो अनुरोध मानेर काम गरेर सहयोग गरेका छन् ।’
अर्थ मन्त्रालयले विगतमा सहमति दिएर दायित्व सिर्जना भएका कुनै पनि आयोजनाको रकम नरोक्ने पटक–पटक बताए पनि अधिकांश सडकको रकम निकासा रोकेको छ । अर्थकै कारण दायित्व सिर्जना भएका कुनै पनि आयोजनाको रकम समयमै निकासा दिने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पटक–पटक प्रतिबद्धता व्यक्त गरेका छन् । तर, अर्थले नै बहुवर्षीय ठेक्काको लागि सहमति दिएको उक्त लोकसञ्चार मार्गको रकम निकासा अर्थले नगरेपछि निर्माण व्यवसायी मर्कामा परेका छन् ।
स्वच्छन्द÷वल्र्डवाइड/अमृत जेभीले २०७४ असोजबाट निर्माण सुरु गरेको उक्त सडक प्रदेश सरकार मातहत गएर करिब दश महिना र कोभिडको कारण चार महिना निर्माण पूर्णरुपमा अवरुद्ध भएको थियो । तर, पनि निर्माण कम्पनीले तोकेको समयमा सडक निर्माण सक्ने लक्ष्य लिएको छ । ‘असार मसान्तसम्म यो सडकको निर्माण पूरा गर्नुपर्ने हो । तर, हामी वैशाख महिनाभित्रै कालोपत्रेको काम पनि पूरा गर्छौं’, निर्माण व्यवसायी सुशील फुयालले आर्थिक दैनिकसित भने, ‘सडक डिभिजनले विगतमा गरेको कामकै भुक्तानी दिएको छैन ।
हामीले सडक डिभिजनको अनुरोध मानेर ऋण खोजेरै भए पनि मौसमलाई गुम्न नदिई कालोपत्रे गरिरहेका छौँ । अर्थले लिखित प्रतिबद्धता दिएपछि सिर्जित दायित्व भुक्तानीका लागि त यति असहयोग गर्छ भने निर्माण व्यवसायीको मनोबल कसरी उठ्न सक्तछ र नेपालको निर्माण क्षेत्रले गति लिने हो ?’
अर्थ मन्त्रालयका अधिकारीहरु भने अर्थको सहमतिमा सिर्जित दायित्व भुक्तानीमा ढिला भए पनि भुक्तानी हुनेमा आशंका नगर्न आग्रह गर्छन् । ‘अर्थले सहमति दिएपछि त्यही सीमाभित्र भएको निर्माणकार्यको भुक्तानीका लागि समस्या हुँदैन’, केही दिनअगाडि अर्थ मन्त्रालयका एक अधिकारीले आर्थिक दैनिकसित भनेका थिए । तर, सिर्जित दायित्वको रकम कहिले भुक्तानी हुने भन्ने बारेमा टुंगो नलाग्दा निर्माण व्यवसायी थप ब्याजको भारमा परेका छन् ।
‘ब्याजमा रकम खोजेर कालोपत्रे गर्ने अवस्थामा निर्माण व्यवसायी पुग्नु राज्यको निरीहता हो’, अर्का निर्माण व्यवसायी लक्ष्मीनारायण मानन्धरले आर्थिक दैनिकसित भने, ‘कागज हेर्दा अर्थले स्रोत सुनिश्चित गरेर मात्र ठेक्का लगाएको छ । तर, काम गरेको रकम एक वर्षसम्म रोक्दा व्यवसायीका घरजग्गा लिलाम हुने अवस्था सिर्जना हुनुभन्दा पीडादायी अरु केही हुन सक्तैन ।’
नुवाकोटको जिलिङ्गदेखि धादिङ्गको धार्केसम्मको करिब ४० किलोमिटर लामो दुईलेनको उक्त सडक (लोकसञ्चार मार्ग) निर्माणको लागि झण्डै डेढ अर्ब रुपैयाँ लागत लाग्ने देखिएको छ । डीपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डको लागि ५० करोड ८५ लाख रुपैयाँ लाग्ने उल्लेख गरिए पनि सवा २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
जिलिङ्गको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रम नामको रेडबुकमा आर्थिक वर्ष २०७३/०७४ देखि समावेश भएको थियो । उक्त आयोजना अहिले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम शीर्षकमा समावेश भएको छ । ठेक्का सुरु हुँदा उक्त सडक सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश भएको थियो ।
पहिलो खण्डको कालोपत्रेसम्मको काम ठेकेदार कम्पनीले २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि वैशाख महिनामै सक्ने लक्ष्यका साथ काम गरिरहेको छ । अर्थ मन्त्रालयले उक्त सडकको पहिलो खण्डलाई ५० करोड ८५ लाख रुपैयाँको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मंसिर २७ गते सहमति दिएको थियो । ठेक्काको प्रक्रिया लामो भएको कारण २०७४ असार मसान्तमा मात्र ठेकेदार कम्पनीसँग सडकले सम्झौता गरेको थियो । सम्झौता गरेलगत्तै वर्षायाम सुरु भएको कारण असोजमा मात्र सडकको स्तरोन्नति सुरु गरिएको थियो ।
लोकसञ्चार मार्ग रसुवागढी–गल्छी सडकको नुवाकोट जिल्लाको हालको बेलकोटगढी नगरपालिका–८ सिमखेत बालुवाखानीबाट सुरु भएर केउरिनी, हर्रे, बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोर हुँदै कुमरीबाट निर्माणाधीन बाह्रबीसेको मोटरेबल पुलबाट धादिङको आचार्य पोखरीबाट पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको मिलनविन्दु नजिक नौबीसेमा पृथ्वीराजमार्गमा जोडिनेछ ।
यो सडक त्रिभुवन राजपथबाट तराईसँग जोडिने हुनाले यसको निर्माण पूरा भएपछि पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधैं रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहजता प्रदान गर्नेछ । सोही कारण यो सडकलाई वैकल्पिक राजमार्गको रुपमा हेरिएको छ । साथै उक्त सडक निर्माणले नुवाकोट र धादिङका कयौं गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।