काठमाडौं ।
सिभिल बैंकको खुुद मुनाफामा उल्लेख्यरूपमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा बैंकको निक्षेप तथा कर्जा प्रवाह दुवैमा सुधार आएसँगै खुद मुनाफा पनि बढेको हो । बैंकले चालू आवको पछिल्लो अवधिमा ५० करोड २५ लाख खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले आर्जज गरेको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा ३९ दशमलव ३९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३६ करोड पाँच लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
पछिल्लो अवधिमा बैंकले कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । बैंकले आर्थिक वर्ष २०७७—०७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको हो ।
गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा बैंकको निक्षेप ६१ दशमलव ९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४ दशमलव ६७ प्रतिशतले बढेको छ ।
बैंकले समीक्षा अवधिसम्ममा ८७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४ अर्ब २६ करोड रुपैयाँँ निक्षेप संकलन गरी ५२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बैंकले यस आर्थिक वर्षमा निक्षेपतर्फ २७ अर्ब ७६ करोड रुपैयाँ वृद्धि गरेको छ जुन असार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशत को बढी हो । बैंकको निक्षेपको वृद्धि अन्य वाणिज्य बैंकहरूको तुलनामा वृद्धिदर कममा सातौँ तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको छ ।
त्यसैगरी बैंकले कर्जातर्फ यस आर्थिक वर्षमा २७ अर्ब ६२ करोड रुपैयाँले वृद्धि गरेको छ जुन असार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको बढी हो । बैंकको कर्जाको वृद्धि अन्य वाणिज्य बैंकहरूको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको छ ।
तेस्रो त्रैमासको अन्तसम्म बैंकको ग्राहक संख्या पाँच लाख ४१ हजार नौ सय ८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४ दशमलव ७६ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या चार लाख ४२ हजार चार सय ४२ थियो ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१ दशमलव ८१ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म दुई दशमलव ९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर एक दशमलव १३ प्रतिशतमा झरेको हो ।