काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योग धन्दा केही समयको लागि बन्द गरिदिन आग्रह गरेको छ । कोरोना बढेसँगै मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योग धन्दा केही समयका लागि बन्द गर्न वा बन्द गर्न नसकिने अवस्था भएमा निकै कम खपत हुने गरी प्रयोग गर्न आग्रह गरेको छ । उसले यसको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै उद्योग बन्द गरिदिन वा कम खपत गर्ने वातावरण तयार गरिदिनको लागि आग्रह गरेको हो ।
वरिष्ठ सहायका डा. समीर कुमार अधिकारीले पछिल्लो समय कोरोना महामारीका कारण भारतमा सिर्जित समस्या नेपालले पनि भोग्नु नपरोस् भनी अक्सिजन प्रयोग गर्ने उद्योग बन्द गर्नका लागि आग्रह गरिएको बताए । भारतमा पछिल्लो समय कोरोना संक्रमितले अक्सिजनको अभाव झेल्नुपरेको छ । बीबीसी हिन्दीका अनुसार भारतमा आगामी दिनमा १५ सयदेखि १६ सय टन आवश्यक पर्ने भए पनि उक्त माग पूरा गर्न कठिन हुने बताइएको छ ।
‘अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठ्यारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योग धन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न’, उद्योगलाई लेखिएको पत्रमा भनिएको छ । आइतबार २८ जना कोरोना संक्रमितको निधन भएको छ ।
यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा ३५ सय ५६ जना संक्रमित फेला परेका छन् । १२ हजार चार सय जनाको पीसीआर परीक्षण र आठ सय ९३ जानको एन्टिजेन परीक्षण गर्दा क्रमशः तीन हजार चार सय ४२ जना र एक सय १४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर गरिएकामध्ये दुई हजार एक सय नौ जना पुरुष र एक हजार तीन सय ३३ जना महिला रहेका छन् ।
योसँगै मुलुकभर संक्रमितको संख्या तीन लाख तीन हजार पाँच सय ६१ जना पुगेको मन्त्रालयले जनाएको छ । यस्तै सोही अवधिमा थप तीन सय ७८ जना निको भएका छन् भने हालसम्म निको हुनेको संख्या दुई लाख ७७ हजार नौ सय ५१ जना पुगेको छ । यही अवधिमा थप १२ जनाको मृत्यु भएको छ भने योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार एक सय ७६ जना पुगेको छ । मुलुकभर २२ हजार चार सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।