काठमाडौ ।
लक्ष्मी बैंकले एपीआई बैंकिङमा आधारित एल इन्टु बी कनेक्टमा साझेदारीको आह्वान गरेको छ । बैंकका अनुसार एपीआई बैंकिङमा माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीतिबमोजिम एल इन्टु बी कनेक्ट नामक एपीआई डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरिएको हो ।
यो साझेदारीअन्तर्गत फिन्टेक, स्टार्ट अप तथा डेभलपरहरूले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरूलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् । एल इन्टु बी कनेक्ट स्यान्ड बक्स इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरूले बैंकिङ सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआईसँग सम्बन्धित कार्यसँग एकीकरणको सम्भावनाहरूलाई कार्यान्वयन गर्न तथा आफूअनुकूल प्रयोग गर्न सक्नेछन् ।
बैंकले खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी तीन वर्गको प्रयोग हुनेगरी एपीआईमा पहुँच प्रदान गर्नेछ । जसअनुसार खाता व्यवस्थापनअन्तर्गत खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने कार्य हुुनेछ । वित्तीय व्यवस्थाअन्तर्गत हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट आदि सेवाहरू प्रवाह हुुनेछ । भने गैरवित्तीय व्यवस्थाअन्तर्गत विनिमय दर, शाखा तथा एटीएमहरूको जानकारी, प्रमाणीकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि कार्यहरू हुनेछन् ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले हाल एक सय २९ शाखाहरू, पाँचवटा हस्पिटल काउन्टर, एक सय ५८ एटीएम तथा २५ सयभन्दा बढी रेमिट्यान्स, ६१ शाखासहित बैकिङ सेवा, चार सयभन्दा बढी मोबाइल एजेन्टमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।