काठमाडौं ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने विभिन्न सामग्री उत्पादन र बिक्री वितरण गरेर केही देशहरुले आफ्नो अर्थतन्त्रलाई जोगाईराखे पनि नेपालको अर्थतन्त्र भने थप कमजोर र ऋणात्मक हुने पक्का भएको छ ।
नेपालले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री उत्पादनको त कुरै छाडौं खरिद गर्नसमेत सकेको छैन । यसले नेपालको अर्थतन्त्र कस्तो छ भन्ने यसैले संकेत गर्छ । कोरोना सक्रंमण तीब्र रुपमा फैलिन थालेपछि स्थानीय प्रशासनले भोलि विहीबार बिहान छ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको छ । यसअघि नै कैयौं जिल्लामा निषेधाज्ञा लगाइएको छ । खासगरी संघीय राजधानी काठमाडौंमा निषेधाज्ञाले देशलाई नै प्रभावित पार्ने छ ।
कोभिड महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्रमा ठूलो क्षति पु¥याएको थियो । पहिलो लकडाउनको कारण गत आर्थिक बर्षमा नेपालको अर्थतन्त्र एक दशमलव ९९ प्रतिशत र त्यसकै असर स्वरुप चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ दशमलव ६ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रहन पुगेको छ ।
यो आर्थिक वर्षमा निषेधाज्ञा लगाउँदा अर्थतन्त्र थप कमजोर बन्ने नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार अपिल जारी गर्दैै जनाएको छ । अर्थतन्त्र जति नै कमजोर भए पनि कोभिड नियन्त्रणका लागि र जनस्तरमा दैनिक उपभोग्य सामग्री सहज बनाउन सरकारले चाल्ने कदममा पूर्ण सहयोग रहने महासंघले जनाएको छ ।
कोरोनालाई फैलिन दिनबाट रोक्न सकियो भने देशको अर्थतन्त्र थप बिग्रनबाट रोक्न सकिने व्यवसायीहरुले बताएका छन् । निशेधाज्ञाका समयमा आम जनताको दैनिकजीवन यापन सहज बनाउन, उनीहरूको दैनिक आवश्यकता पुरा गर्न, अत्यावश्यक खाद्यान्न लगायत स्वास्थ्य सामग्रीहरूको बजारमा सहज आपूर्तिमा निजी क्षेत्रको ठूलो भूमिका रहने गर्छ ।
निषेधाज्ञाको समयमा उच्चतम स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपायहरू अलवम्वन गरी उद्योग तथा कलकारखाना सञ्चालन गर्ने वातावरण बनेमा मात्र देशको अर्थतन्त्र चलायमान हुन सक्ने देखिन्छ । उद्योग र कलकारखाना सञ्चालन भइरहेमा रोजगारी समेत गुम्ने छैन । तर, कोरोना थप फैलियमा सबै क्षेत्र पूर्णत बन्द हुने देखिन्छ । यसले नेपालको अर्थतन्त्र ऋणात्मक बन्ने पक्का भएको एक व्यवसायीले बताए ।
निषेधाज्ञाको समयमा आर्थिक महत्व बोकेका ठूला परियोजनाहरूको निरन्तर संचालनको सुनिश्चितता, उद्योग कलकारखानाहरूको संचालन आवश्यक छ । उत्पादित सामानहरूको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजता सहित उद्योग व्यवसाय संचालनका लागि आवश्यक कामदार कर्मचारीहरूको आवतजावतलाई सहज बनाउनु आवश्यक छ ।
लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत बर्ष घोषणा भएको राहतको निरन्तरतासंगै नया लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै सरकारले घोषणा गरेमा केही सहज हुने व्यवसायीहरुको माग छ ।
अर्थतन्त्र जोगाउनको लागि सरकारले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणको तयारीमा भने जुटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्योपचारका लागि आवश्यक सामग्रीदेखि जनशक्ति परिचालन गर्न थालेको छ । सङ्क्रमण रोकथाम र नियन्त्रणकै क्रममा मन्त्रालयले मुलुकभर ८ सय ५० शय्याका हाई डिपेन्डेन्सी युनिट (एचडियु) निर्माण अन्तिम चरणमा पु-याएको छ । तीमध्ये १७५ सैया सञ्चालनमा आइसकेको तथा ६७५ शय्या बन्ने क्रममा छन् । २३ अस्पतालमा एक हजार एचडियु निर्माण अघि बढाए पनि अहिले ८५० वटा निर्माणको अन्तिम चरणमा पुगेको छ ।
निजामती अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा ५० सैया तथा कान्ति बाल अस्पताल, गङ्गालाल हृदय केन्द्र र चापागाउँ अस्पतालका २५ सैयाका एचडियु पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् । पाटन र वीर अस्पतालले सय–सय सै्याका एचडियु, त्रिवि शिक्षण अस्पताल, प्रहरी अस्पताल, दहचोक अस्पताल र आर्मी अस्पतालका ५०/५० सैया क्षमताका केही एचडियु बनिसकेको र केही बन्ने प्रक्रियामा छन् ।
यस्तै मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको २५ सैया पनि बन्ने प्रक्रियामा छ । ती अस्पतालले आफैं निर्माण गरेपछि मन्त्रालयले रकम उपलब्ध गराउने छ । सरकारले सङ्क्रमितको उपचारका लागि सबै निजी मेडिकल कलेजसँंग सम्झौता गरेको छ । सङ्क्रमित दिनहुँ बढ्न थालेकाले निजी अस्पतालमा पनि उपचार गराउन सकिने गरी सम्झौता गरिएको हो ।
कोरोना बढ्न थालेपछि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा घोषणा भएका छन् । काठमाडौं उपत्यकाको निषेधाज्ञाले सबै जिल्लालाई असर पारेको छ । मंगलबार मात्रै चार हजार पाँच सय २४ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजार नौं सय ७० जनामा कोरोना पुष्टि भएको कारण सबैभन्दा बढी प्रभावित काठमाडौं भएको अनुमान गरिएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ पुगेको छ । दुई साताअघि चार हजार २८९ जनाको पिसिआर परीक्षण तथा ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । दुई साताअघिसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको थियो । हाल उक्त सङ्ख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । हाल ५८ जना क्वारेन्टिनमा रहेका छन् ।
हालसम्म दुई लाख ७८ हजार ५०६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेकामा हाल उक्त सङ्ख्या बढेर २६ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेका छन् ।
अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले उक्त घोषणा गरेका हुन् । सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताएका थिए ।
सम्मेलनमा सहभागी मन्त्रीहरुले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएका थिए ।
कोरोनाबाट बाँकेमा एकै दिन आठको मृत्यु : कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा मंगलबार आठ जनाको मृत्यु भएको छ । कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् । त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक/एक जनाको मृत्यु भएको छ । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् ।
ऊर्जामन्त्री र सिडिओलाई कोरोना पुष्टि : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।
मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो । हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ । अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उहाँलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ ।
गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौंँ आएपछि कोरोनाको लक्षण देखा परेको थियो । यसैबीच, प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेललाई कोभिड–१९ सङ्क्रमण देखा परेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा बन्द गरेको छ । कार्यालयले सूचना प्रकाशित गरी यही वैशाख १५ देखि २१ गतेसम्म कार्यालयको सेवा बन्द गरिएको जनाएको छ ।
सबै अस्पतालको बहिरङ्ग सेवा बन्द : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।