दोलखा ।
भुकम्पले ध्वस्त बनाएका निजी आवास निर्माणका लागि दोलखामा १९ अर्ब ८५ करोड ५८ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । भुकम्प गएको छ वर्षको अवधिमा निजी आवास निर्माणका लागि सरकार र विभिन्न आवास निर्माणको लागी आएका दातृ निकाय तथा गैरसरकारी संघसंस्थाको तर्फबाट जिल्लाभर उक्त रकम खर्च भएको जिल्ला स्तरीय आयोजना कार्यान्वय इकाई तथा स्थानीय पुर्वधारको कार्यालय दोलखाले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा सरकारका तर्फबाट निजी आवास निर्माणका लागि १९ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ । यस्तै विभिन्न सहयोगी दातृ निकायबाट ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ खर्च छ । यसैगरि हालसम्म यहाँ ९० प्रतिशत घरको पुननिर्माण सकिएको छ ।
हालसम्म पहिचान भएका ७३ हजार ५ सय ७२ जना भुकम्प पिडीतमध्ये ६२ हजार ९ सय २१ जनाले तेस्रो किस्ताको रकम लिईसकेको जिल्ला स्तरीय आयोजना कार्यान्वय इकाई तथा स्थानीय पुर्वधारको कार्यालय दोलखाका प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार जिल्लामा पहिलो किस्ता ६९ हजार २ सय ७ जनाले र दोस्रो किस्ता ६६ हजार ४९ जनाले लिएका छन् ।
दोलखामा अझै करिब १० प्रतिशत घरको पुननिर्माण हुन बाकी रहेको छ । जिल्लामा एकीकृत बस्ती निर्माण सुस्त हुँदा पुननिर्माण सक्न ढिलाइ भएको हो । त्यसैगरी दोस्रो र तेस्रो किस्ता निकासा नहुँदा भुकम्प पीडितलाई घर बनाउन समस्या भएको पीडितले गुनासो गर्दै आएका छन् ।