काठमाडौं ।
नेपाल स्काउटको संरचना देशका सबै ७ सय ५३ पालिकाहरुमा निर्माण गरिएको छ । यससंगै अब स्काउट त्यहाँका सबै विद्यालयमा पनि फैलिने भएको छ । स्काउट प्रधानकार्यालय राजधानीमा बुधबार आयोजित एक कार्यक्रमका वीच यससम्बन्धी जानकारी गराईएको हो ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित सँस्थालाई देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गरिएको हो ।
विगतमा सिमित क्षेत्रमा क्रियाशिल स्काउटको संरचना अहिले नयाँ राज्य संरचना अनुसार सातै वटा प्रदेश तहमा बनिसकेको छ । ‘परम्परागत संरचनामा खुम्चिएर रहेको स्काउटले नयाँ संरचना सँगै समयको माग अनुसार गतिशिल हुने अवसर पाएको छ’, उनले भने ।
विगतमा भन्दा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै स्काउट गतिविधि बढेको पनि उनले बताए । परिणामस्वरुप विगत लामो समयदेखि निस्कृय देखिएको नेपाल स्काउटको अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाईमा पुगेको उनले बताए ।
स्थानीय संरचनाअन्तर्गत हरेक विद्यालयमा कम्तिमा एक वटा स्काउट समिति बन्ने उनले जानकारी दिए । ति समितिहरु मार्फत विद्यार्थीले अनुशासन, कुलतबाट बच्ने उपाय, सामाजिक कार्यमा सक्रियता एवं शारीरिक तथा मानसिक विकाससम्बन्धी तालिम प्राप्त गर्ने छन् ।
यस आर्थिक वर्षमात्र ५० हजार बढी स्काउट स्वयंसेवक परिचालन गरिएको र कोभिडको महामारीमा शव व्यवस्थापनसम्मका सामाजिक कार्यमा सक्रिय रहेको उनले जानकारी दिए ।
नेपाल स्काउट ऐन २०५५ अनुसार प्रधानमन्त्री नेपाल स्काउटका संरक्षक र युवा तथा खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था रहेकोछ भने, प्रदेशमा मुख्यमन्त्री संरक्षक सामाजिक विकास मन्त्री प्रमुख स्काउट हुने व्यवस्था हुनुका साथै स्थानीय पालिकामा, पालिका प्रमुख संरक्षक तथा पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ ।
यसबाट संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा नीतिगत रुपमै हरेक बिद्यालयमा स्काउट युनिटहरु संचालन हुने र हरेक पालिकामा स्काउट क्रियु संचालन हुनेछ ।