इस्लामावाद ।
संघीय सरकारको मन्त्रिपरिषद् बैठकले पाकिस्तानी ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई दुई कम्पनीमा विभाजन गर्नेबारे छलफल गरेको छ । यसबारे छलफल गर्दै सरकारले केही संरचनागत परिवर्तनको लागि आर्थिक सहकार्य समिति (ईसीसी)लाई जिम्मा दिएको हो ।
यो योजना पूर्वप्रधानमन्त्री नवाज सरिफकै पालामा प्रमाणीकरण भएको थियो । सन् २०१५ मा तत्कालीन सरकारले पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई कम्पनीमा रुपान्तरण गर्ने कानुन ल्याएको थियो । तर पीआईएका कर्मचारी र विपक्षी दलको तीव्र विरोधपछि कार्यान्वयन हुन पाएको थिएन । एयरलाइन्स निजीकरण हुनलागेको भन्दै विरोध भएको थियो ।
मंगलबारको बैठकमा पीआईएलाई वित्तीय संकटबाट जोगाउन दुई कम्पनीमा जानेबारे छलफल भएको बताइएको छ । यसबारे अगाडि बढ्ने निर्णय गर्दै यसको निचोड ईसीसीलाई केही परिवर्तनका लागि पठाइएको हो ।
पीआईए पछिल्लो समय ऋणमा चुर्लुम्म डुबेको छ । तर पछिल्लो समय यसको कुल सञ्चालन घाटा ५७ अर्ब पाकिस्तानी रुपैयाँबाट एक अर्ब डलरमा झरेको सूचनामन्त्री फवाद चौधरीलाई उद्धृत गर्दै डनले जनाएको छ । ऋणकै कारण कुल घाटा चार खर्ब ६० अर्ब पुगेको बताइएको छ । पीआईएको एयरक्राफ्ट र कर्मचारीको अनुपात नै चार सय ५० रहेको छ जुन विश्वकै उच्च हो ।