सोल ।
सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली कन हीको परिवारले १० अर्ब ७८ करोड अमेरिकी डलरबराबरको कीर्तिमानी पैतृक सम्पत्ति कर तिर्ने भएको छ । दक्षिण कोरियामा विश्वकै धेरै पैतृक सम्पत्ति करदर रहेको छ ।
बीबीसीका अनुसार सामसङलाई विश्व इलेक्ट्रोनिक्स ब्रान्ड बनाउने श्रेय जाने लीको गत वर्ष अक्टोबरमा मृत्यु भएको थियो । करबारेको मुद्दालाई लगानीकर्ताले नजिकबाट नियालिरहेका छन् । यसले सामसङमा रहेको ली परिवारको सेयरमा समेत प्रभाव पार्न सक्छ ।
कम्पनीका उपप्रमुखमा अहिले जे वाई लीले सन् २०१४ यता डी फ्याक्टो प्रमुखको भूमिका निर्वाह गरिरहेका छन् । लगानीकर्ताले भने लीका छोरा जेको सेयर परिवर्तनबारे नियामक निकायले गर्ने फाइलिङ कुर्नुपर्नेछ । जे अहिले जेलजीवन बिताइरहेका छन्। उनी २ वर्ष ६ महिनाका लागि जेलमा छन् । पूर्वराष्ट्रपति पार्क गुन ही समेत संलग्न रहेको घुसकाण्डमा जे मुछिएका छन् ।
सामसङले एक वक्तव्य जारी गर्दै यो कोरिया र सम्भवतः विश्वमै धेरै कर भएको बताएको छ । कोरियामा ५० प्रतिशत पैतृक सम्पत्ति करदर छ । यो जापानपछिकै ठूलो दर हो । अमेरिका र बेलायतमा यस्तो करदर ४० प्रतिशत छ ।