नयाँ दिल्ली ।
कोरोनाको नयाँ भेरियन्टले आक्रान्त भारतमा पछिल्लो १० दिनयता अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर र नेबुलाइजर्सको मूल्य ५० देखि शतप्रतिशतसम्मले वृद्धि भएको भारतीय मिडियाले बताएका छन् ।
मागको तुलनामा आपूर्ति कम हुँदा यी चीजको मूल्यमा अत्यधिक वृद्धि भएको हो । अनलाइन खुद्रा बिक्रेता कम्पनी अमेजनले तोकिएको मूल्यबाहेक अधिक मूल्य लिने भेन्डर (बिक्रेता)लाई कारबाही गर्न सुरु गरेको बताएको छ । अर्गनाइज्ड मेडिकल डिभाइसेज इन्डस्ट्री, कानुनी जानकार र उपभोक्ताले मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको बताइएको छ ।
अक्सिजन कन्सन्ट्रेटरले हावाबाट अक्सिजन जेनरेट गर्छ । पछिल्लो हप्ता यसको मूल्य दुई गुणा बढी भएको छ । त्यस्तै अक्सिमिटरको मूल्य पनि एक हजार भारुबाट दुई हजारसम्म पुगेको छ । अफलाइन र अनलाइन दुवै बजारमा यसको मूल्य अत्यधिक दरमा बढेको बताइएको छ ।
भारत सरकारले पछिल्ले वर्ष यी वस्तुको मूल्य निर्धारण गरेको थियो तर केही बिक्रेता कम्पनपी र आयातकर्ताले यसको पालना नगरेको बताइएको छ । अमेजन इन्डियाका एक प्रवक्ताले मूल्यवृद्धि रोक्न कम्पनीले तत्काल कदम चालेको दाबी गरे । अमेजनले संकटको बेला यसरी मूल्यवृद्धि गर्नेविरुद्ध कडा कदम चाल्ने जनाउँदै कम्पनीको सेलर्स लिस्टिङबाट हटाइरहेको बताए ।
यसरी मूल्यवृद्धि गर्नु भारतीय कानुनको विपरीत हुने पनि उनले बताए । प्रायः एउटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न ४५ हजार भारु पर्ने भए पनि कतिपय उपभोक्ताले लाखभन्दा धेरै रकम खर्च गर्नुपरेको गुनासो गरिरहेका छन् । यो डिभाइसको मासिक भाडा नै ५ हजारबाट बढेर १० देखि २० हजार भारुसम्म पुगेको बताइएको छ ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो
भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या दुई लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार दुई सय २९ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार एक सय ८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालउले जानकारी दिएको छ ।
एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष सुरु भएयताकै यो सबैभन्दा धेरै भएको समाचारमा जनाइएको छ । सिन्ह्वाका अनुसार मंगलबार एकै दिनमा तीन लाख ६० हजार नौ सय ६० जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ७९ लाख ९७ हजारभन्दा बढी व्यक्ति संक्रमित हुनपुगेका बताइएको छ ।
एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो सातौँ दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । भारतमा हाल २९ लाख ७८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ४८ लाख १७ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५५ लाख भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।
कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिरहेको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन्।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ गत सोमबार एकैदिनमा २० हजार दुई सय एक जना थप व्यक्ति कोरोना भाइरस संक्रमण देखिएको र तीन सय ८० जनाको मृत्यु भएको छ । दिल्ली कोरोना सुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण १५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।