काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा तीन अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रुपैयाँ अर्थात् ३२ दशमलव ४० प्रतिशत बढी हो ।
खुद मुनाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा राम्रो सुधार भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी, चालू आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ पाँच पैसा कायम भएको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा दुुई अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
बैंकले आफ्नो व्यवसायमा गरेको वृद्धि, सञ्चालन खर्चहरूमा अपनाएको मितव्ययिता, डिजिटाइजेसनमा गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकताजस्ता नीतिहरूको सफल कार्यान्वयनबाट उल्लेखित वित्तीय प्रगति गर्न सफल भएको छ ।
विगत नौ महिनामा बैंकको निक्षेप दुई खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर दुुई खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको खुद कर्जा लगानी एक खर्ब ९८ अर्ब रुपैयाँबाट बढेर दुई खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको आसार मसान्तमा एक दशमलव ७६ प्रतिशत रहेको निष्कृय कर्जा चैत्र मसान्तसम्म क्रमिकरूपमा सुधार भई एक दशमलव ६१ प्रतिशत रहेको छ । बैंकको आधार दर नौ दशमलव ४१ प्रतिशतबाट छ दशमलव ४० प्रतिशतमा र स्प्रेड दर पाँच दसलमलव १८ प्रतिशतबाट चार दशमलव १७ प्रतिशतमा झरेको छ ।
बैंकको आधार दरमा आएको उल्लेख्य गिरावटबाट बैंकका ग्राहकहरू समेत प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । साथै बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्त गरेको पुनर्कर्जाले आफ्ना ग्राहकहरूको व्यापार व्यवसायमा थप सघाउ पु-याउन सकेकोले बैंकको व्यावसायिक कदमहरू ग्राहकहरूको हितका लागि छ भन्नेमा बैंक विश्वस्त छ ।
बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा बैंकको दुई सय ७३ शाखा, दुर्ई सय ४७ एटीएम, दुई सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा उपल्बध गराउँदै आएको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।