काठमाडौं ।
सेयर बजार परिसुचक पुन २६ सय अंकमा उक्लिएको छ । अघिल्ला दिनहरुमा लगातार ओरालो लागेर २५ सय अंकमा झरेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार २५ दसमलव ८२ अंकले उकालो लागेर २६ सय ११ दसमलव १० अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ९१ अंकले उकालो लागेर चार सय ६९ दसमलव दुुई अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ५० हजार छ सय ७३ पटकको कारोवारमा ९८ लाख १८ हजार ४६ कित्ता सेयर किनबेच भएको छ । उक्त परिमाणमा सेयर किनबेच हुंदा आज कुल कारोवार रकम चार अर्ब ३५ करोड ७० लाख १९ हजार दुई सय ४९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बिहीवार कारोवार भएका कुल उपसमुह मध्ये दुई वटा उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँकी उपसमुहको सुचक उकालो लागेका छन् । जसमध्ये होटल तथा पर्यटन र लगानी उपसमुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा उपसुमहको सुचक उकालो लागेका छन् ।