काठमाडौँ ।
जेठ ६ गते बिहीबारका दिन हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको प्रयोजनका लागि पाँचवटा राजनीतिक दलह्रूले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले दल दर्ता गराएका हुन् ।
राजनीतिक दल दर्ता, निर्वाचन चिह्न र क्रम निर्धारण तथा मतदाता नामावली प्रकाशन सम्बन्धमा आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता हुनआएका पाँच राजनीतिक दलको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त निर्णयअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई सूर्य चिह्न र क्रम १, नेपाली कांगेसलाई रुख चिह्न र क्रम २, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा चिह्न र क्रम ३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिह्न र क्रम ४ तथा नेपाल मजदुर किसान पार्टीलाई मादल चिह्न र क्रम ५ को क्रममा मतपत्रमा समावेश गरिने छ ।
यस्तै आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य एक सय १० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख दुई सय ३८ जना गरी जम्मा तीन सय ४८ जना मतदाताको नाम समावेश गरी तयार गरिएको मतदाता नामावली स्वीकृत गर्ने निर्णय गरेको छ ।
आयोगले स्वीकृत भएको मतदाता नामावली वैशाख २१ गते बिहान ११.०० बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा सोही दिनको बिहान ११.०० बजेदेखि बेलुकी ५.०० बजेसम्म नाम समावेश हुन छुटेको व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको छ ।