काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २६ सय ११ दशमलव १० बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६९ दशमलव दुई बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ५१ हजार तीन सय २२ पटकको कारोबारमा पाँच करोड ६५ लाख ८८ हजार दुई सय ९४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २७ अर्ब ३३ करोड १६ लाख ७० हजार पाँच सय ४५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा घटी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय १६ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ७४ हजार पाँच सय ३१ पटकको कारोबारमा सात करोड २९ लाख १८ हजार नौ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार एक सय ७० रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र चौथो दिन बजार परिसूचक ओरालो लागेको थियो भने तेस्रो र पाँचौँ दिन उकालो लागेको थियो । सोमध्ये पहिलो दिन बजार परिसूचक ७५ दशमलव ७९ अंकले ओरालो लागेर २५ सय ७२ दशमलव २२ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ५६ बिन्दुले ओरालो लागेर चार सय ६४ दशमलव पाँच बिन्दुुमा झरेको थियो ।
दोस्रो दिन पनि बजार परिसूचक ६५ दशमलव ५८ अंकले ओरालो लागेर २६ सय छ दशमलव ६१ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २५ बिन्दुले ओरालो लागेर चार सय ५२ दशमलव ७९ बिन्दुुमा झरेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक ९२ दशमलव ४६ अंकले उकालो लागेर दुुई हजार पाँच सय ९९ दशमलव सात बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ४८ अंकले उकालो लागेर चार सय ६७ दशमलव २८ बिन्दुमा चढेको थियो । चौथो कारोबार दिन भने बजार परिसूचक १३ दशमलव ७९ अंकले ओरालो लागेर दुई हजार पाँच सय ८५ दशमलव ३८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १६ अंकले ओरालो लागेर चार सय ६५ दशमलव ११ बिन्दुमा झरेको थियो ।
अन्तिम कारोबार दिन भने बजार परिसूचक २५ दशमलव ८२ अंकले उकालो लागेर दुुई हजार छ सय ११ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले उकालो लागेर चार सय ६९ दशमलव दुई बिन्दुमा चढेको थियो ।
यससाता बढी रकम कारोबार गर्ने कम्पनीह्रूको सूचीमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् ।
बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंकलगायतका कम्पनीहरू परेका छन् । सेयर सूचीकरणतर्फ भने यो साता मल्टीपर्पस फाइनान्स, गुडविल फाइनान्ससहितका चार वटा कम्पनीहरूको बोनस, हकप्रद, एवं साधारण सेयर सूचीकृत भएका छन् । (आर्थिक दैनिकबाट)