काठमाडौं ।
नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा सम्झौता गरेको हो ।
बैंकका मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नबिलले युनाइटेडलाई ३५ रुपैयाँ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । प्राप्तिपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र सञ्चालक समिति पनि नबिल बैंककै रहनेगरी सम्झौता भएको छ ।
उक्त सम्झौतापश्चात् प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइनेछ र समयमै स्वीकृति पाएमा यथाशीघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ । सोहीअनुसार नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई एक सय ४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यकाभित्र मात्र शाखा सञ्जाल वृद्धि भई ३७ हुनेछ ।
एटीएम संख्या भने १९० हुनेछ । निक्षेपको आकार दुई खर्ब १६ अर्ब हुनेछ भने कर्जाको आकार दुुई खर्ब एक अर्ब हुनेछ (चैत्र मसान्तको वित्तीय विवरणअनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको आकार दुुई खर्बभन्दा माथि हुनेछ ।
नबिल बैंकले मर्जर तथा प्राप्ति प्रक्रियामा जान पहिलो पटक यस वर्षको साधारणसभाबाट पारित गरेको थियो । बंैकले सोही वर्ष नै प्राप्ति सम्झौताको घोषणा पनि गरेको छ । यो प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा उपस्थित हुनेछ ।