ढाका ।
बंगलादेशले मागबमोजिम खोप पाउन नसके खोपनिर्माता भारतको सेरम इन्स्टिच्युटले पैसा फिर्ता गर्ने जनाएको बंगलादेशी अर्थमन्त्री एएचएम मुस्ताफा कमलले बताएका छन् ।
द डेलिस्टार अनलाइनका अनुसार अन्तर्राष्ट्रिय सम्झौताअनुसार खोप दिन नसके बंगलादेशले पैसा फिर्ता पाउने अर्थमन्त्री कमलले बताएका हुन् । ‘यदि हामीलाई खोप आउँदैन भन्ने निश्चित भयो भने हामी हाम्रो पैसा फिर्ता लिन्छौँ’, कमलले भने, ‘खोप आपूर्ति हुँदैन भने निश्चित रुपमा हामी पैसा फिर्ता लिन्छौँ ।’
सेरम इन्स्टिच्युटसँग लिखित सम्झौता गरिएको उल्लेख गर्दै उनले कुनै देशको पैसा अर्को देशले यतिकै लिन नसक्ने दाबी गरे । यसबारे छलफल चलिरहेकाले अहिले नै सेरमबाट खोप आउँदैन भनेर भन्न नसकिने उनको भनाइ थियो ।
सार्वजनिक खरिदसम्बन्धी मन्त्रिपरिषद्को एउटा समितिको भर्चुअल बैठकमा उनले उक्त कुरा बताएको डेलिस्टार अनलाइनले जनाएको छ । यसलाई उनले गम्भीर मुद्दा भनेका छन् । त्यस्तै बंगलादेशले वैकल्पिक स्रोतमार्फत खोप ल्याउनेबारे सरकारले काम गरिरहेको जानकारी पनि उनले दिएका छन् ।