काठमाडौं ।
नेपाल विज्ञापन संघ (आन)ले सरकारलाई बुझाउने राजस्व विवरण र कर रकम भुक्तानीको समय थप गर्न माग गरेको छ । संघका अध्यक्ष सोमप्रसाद धितालले विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरसँगै निषेधाज्ञा भएका कारण तोकिएको समय कर राजस्वको विवरण र कर रकम भुक्तानीमा समस्या परेको भन्दै समय थप गर्नमा माग गरेका हुन् ।
संघले सरकारको सम्बन्धित निकायमा पत्राचार गरी मूल्यअभिवृद्धि कर, आय करको अग्रिम करकट्टीलगायत करहरुको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको समय थपका लागि अनुरोध गरिएको जनाएको छ ।
अहिले दैनिक उपभोग्यबाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने संघको भनाइ छ ।