काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युटअन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको जानकारी दिएको छ ।
शुक्रबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बैंकले आफ्नो स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अगाडि बढेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले समाजपयोगी यस कार्यमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।
उनले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पतालजस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौँको बुढानिलकण्ठमा बहुविशिष्टीकृत अस्पतालको निर्माण गर्न गइरहेको बताए । साथै इन्स्टिट्युटले बाँकी अन्य प्रदेशहरूमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरू सञ्चालन गर्न गइरहेको उनले बताए ।
डा. कोइरालाले बैंकले गरेको उक्त सहयोगले भावी पुस्ताको स्वास्थ्यका निमित्त महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै बैंकलाई धन्यवादज्ञापन गरे । बैंकले आफ्नो स्थापनादेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहकार्य गर्दै आएको छ ।