काठमाडौं ।
नेपालमा कोरोना रोग संक्रमितमध्ये आठ सय ३२ जना सघन उपचार कक्ष (आईसीयू) र दुई सय ६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नंं १ मा एक सय १३, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा चार सय ४३, गण्डकी ६१, लुम्बिनी ८६, कर्णाली ३३ र सुदूरपश्चिम ३६ आईसीयूमा छन् ।
मन्त्रालयका अनुसार प्रदेश नंं १ मा १७, प्रदेश नं २ मा ३७, वाग्मती प्रदेशमा एक सय ५७, गण्डकी १३, लुम्बिनी २१, कर्णाली ११ र सुदूरपश्चिममा ११ भेन्टिलेटर छन् । आईसीयू र भेन्टिलेटरमा रहेका बिरामीलाई अतिजोखिमपूर्ण अवस्थाका मानिन्छ । यस्तै पाँच सय बढी सङ्क्रमण भएका जिल्ला २६ पुगेका छन् । मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी रहेका छन् ।
आइतबार देशभर कोभिड–१९ का आठ हजार आठ सय ५० सङ्क्रमित भेटिएका छन् । १८ हजार सात सय ८७ पीसीआर र छ सय एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा तीन लाख ९४ हजार छ सय ६७ सङ्क्रमित छन् । देखिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका दुई हजार ३८ जना छन् । यस्तै सङ्क्रमित निको भई चार हजार २२ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख दुई हजार सात सय ८७ निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ७६.७ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट ८८ को निधन भएको छ । निधन भएका सङ्क्रमित सङ्ख्या सबैभन्दा बढी हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेको आधारमा आइतबार निधन हुनेको सङ्ख्या ८८ पुगेको जानकारी दिएका हुन् । आइतबारको उक्त तथ्यांकसँगै निधन हुनेको संख्या नेपालमा तीन हजार सात सय २० पुगेको छ ।