काठमाडौं ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा हाल दुई सय २४ जना कोभिड–१९ बाट संक्रमित बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ । तीमध्ये २० जना भेन्टिलेटरमा, १९ जना आईसीयूमा, मध्यम अवस्थाका एक सय पाँच जना र सामान्य अवस्थाका ८० जना रहेका छन् । बिरामीहरूमध्ये प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी एक सय ४३ जना तथा ८१ जना सर्वसाधारण नागरिक रहेका छन् ।
बिरामीहरूमध्ये आइतबार उपचारका लागि अस्पतालमा १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी छ जनालाई भर्ना गरिएको छ । उपचाररतमध्ये १४ जना डिस्चार्ज भएका छन् भने ८७ वर्षीय र ६६ वर्षीय गरी दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपाल प्रहरी अस्पतालमा जम्मा दुई सय ६४ बेड उपलब्ध छन् । तीमध्ये एक सय ६१ साधारण, ७३ एचडीयू (हाई डिपेन्डेन्सी युनिट) र भेन्टिलेटरसहितका २० तथा भेन्टिलेटरबाहेकका १० गरी ३० आईसीयू बेड रहेका छन् ।
कोभिड–१९ बाट संक्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन स्रोतको व्यवस्था समेत गरी अनवरत सेवा प्रदान गर्दै आइरहेको छ । सो क्रममा हाल कोभिड–१९ को महामारीबाट संक्रमित बिरामीहरूको चाप बढ्दै गइरहेको अवस्थालाई मध्यनजर राखी इमर्जेन्सीमा अस्थायीरूपमा २६ बेड थप गरी अक्सिजनसहित उपचार प्रदान गरिएको छ । बेड खाली हुनासाथ उनीहरूलाई स्थान्तरण गरी उपचार गरिने व्यवस्था मिलाइएको छ ।