काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०७७/०७८ को तेस्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा एक सय ३८ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको चैत्र मसान्तमा कम्पनीको जीवन बीमा कोष एक अर्ब २६ करोड ४९ लाख रहेकोमा यस चैत्र मसान्तमा सो रकम तीन अर्ब एक करोड ११ लाख रुपैयाँ पुगेको छ ।
यसका साथै कम्पनीले गत वर्षको चैत्र मसान्तसम्ममा कुल बीमा शुल्क एक अर्ब १८ करोड ५३ संकलन गरेकोमा यस वर्षको सोही अवधिमा दुुई अर्ब ४८ करोड ७४ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन एक सय १० प्रतिशतले बढेको देखिन्छ ।
समीक्षा अवधिमा जीवन बीमा कोषमा एक सय ३८ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ५० करोड आठ लाखबाट ६४ प्रतिशतले बढाएर ८३ करोड २० लाखको उचाइ चुमाएको छ । साथै कम्पनीले लगानी र बीमा लेखको धितो तथा अन्य कर्जाबाट प्राप्तहुने आयमा ५५ प्रतिशतको वृद्धि गरी ३७ करोड दुई लाख रुपैयाँ पु-याएको छ ।
कम्पनीले यस चैत्र मसान्तसम्ममा १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम पाँच अर्ब ४० करोड ७१ लाखमध्ये करिब ७५ दशमलव २८ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ ।
यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।
हरेक विषम परिस्थितिलाई अवसरको रूपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहककेन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम सञ्चालन गरेको छ । यो कोरोनाको विषम परिस्थितिमा विभिन्न सेवालाई अनलाइनमार्फत सेवा लिन सकिने गरी थप व्यवस्था समेत गरेको छ ।
हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमाजस्ता विभिन्न कार्यक्रमहरूलगायत नवीनतम बीमा योजना र व्यावसायिक तथा दक्ष सिटिजन लिडरहरूसहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता समेत कम्पनीले जाहेर गरेको छ ।