नयाँ दिल्ली ।
भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन् ।
एएनआईका अनुसार भारतमा हालसम्म कोरोनाभाइरस संक्रमितको कुल संख्या दुई करोड २२ लाख ९६ हजार पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म एक करोड ८३ लाख १७ हजार संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख ३६ हजार व्यक्ति सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार हजार ९२ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म दुई लाख ४२ हजार तीन सय ६२ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ८ सम्म कुल ३० करोड २२ लाख ७५ हजार नमुना परीक्षण गरिएको छ । यस्तै, गत मे ७ तारिखसम्म भारतभर कोभिड–१९ विरुद्धको खोप १६ करोड ९४ लाख ३९ हजार डोज लगाइएको छ । गत जनवरी १६ देखि खोप दिन थालेको भारतमा हाल १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने गरिएको छ ।