काबुल ।
अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालयबाहिर भएका तीनवटा विस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालयबाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त विस्फोटमा अरु सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा विस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम विस्फोटजस्तो देखिएको बताए । सिन्ह्वाका अनुसार अन्य दुईवटा विस्फोटन भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले बताए ।
विद्यार्थीहरु विद्यालय छुट्टी भएर आआफ्ना घरतिर जानै लाग्दा विस्फोट भएको थियो । अधिकांश पीडितहरु विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ । बाटो हिँड्ने व्यक्तिहरुको पनि मृत्यु वा घाइते भएका प्रहरीको भनाइ छ ।
अफगानिस्तानको सबैभन्दा ठूलो विद्रोही समूह तालिबान भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ । अफगानिस्तानका राष्ट्रपति मोहम्मद अश्रफ घानीले उक्त आक्रमणको निन्दा एवं भत्र्सना गरेका छन् । उनले घाइतेको सर्वोत्तम उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् ।