काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एकै दिन एक सय ३९ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक सार्जजनिक गरेको छ । नेपाली सेनाद्वारा कोभिड–१९को शव व्यवस्थापन तथ्यांकको आधारमा कोभिड–१९ बाट मृत्यु भएकाहरूको थप संख्या गरी एक सय ३९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या तीन हजार आठ सय ५९ जना पुगेको छ ।
नेपालमा कोरोना लागेकाहरूमध्ये निको हुनेको दर ७६ प्रतिशतमा झरेको छ । सोमबार नौ हजार दुई सय ७१ जनामा कोरोना लागेको छ भने चार हजार सात जना निको भएर घर फर्किएका छन् । सोमबार निको भएर घर फर्किनेमा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालदेखि सार्वसाधारण नागरिकसम्म छन् ।
अस्पताल र शय्या थप : सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनाअनुसार अस्पताल र शय्या थप्ने गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै सङ्क्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए । १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र पाँच भेन्टिलेटर थप गरिएको छ । नयाँ थपसँंगै अहिले अस्पताल पाँच सय पाँच, आईसीयू एक हजार आठ सय ७१, भेन्टिलेटर सात सय ४१, एचडीयू दुई हजार आठ सय ७७ र शय्या २० हजार तीन सय ६४ पुगेका छन् ।