दोलखा ।
दोस्रो लहरको कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले अध्ययन तथा रोजगारीको सिलसिलामा जापानमा रहेका दोलखालीहरुको समाजले अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ ।
सामाजिक कार्यमा सक्रिय संस्था दोलखा समाज जापानको सहयोगमा युवा सञ्जाल जिरीले जिल्लाभर फन्टलाइनमा रहेर कोरोना भाइरसको जोखिममा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा बालबालिकालाई मास्क, सेनिटाइजर, फेस सिल्ड लगायतका सामग्री वितरण गरेको हो ।
समाजको आर्थिक सहयोग आएको स्वास्थ्य सामग्रीलाई सोमबार युवा सञ्जाल जिरीका कोषाध्यक्ष जगदीश खड्काले पत्रकार महासंघ दोलखालाई पाँच सय थान मास्क, २५ वटा फेस सिल्ड हस्तान्तरण गरेका छन् । उनले महासंघ दोलखा अध्यक्ष दीपशंकर चौलागाईंलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । त्यसैगरी सोमबार नै प्रस्तावित चरीकोट अस्पताललाई १५ सय थान मास्क, पाँच लिटर सेनिटाइजर सहयोग गरिएको छ ।
त्यस्तै संस्थाले जिल्ला प्रहरी कार्यालय दोलखालाई एक हजार थान मास्क र पाँच लिटर सेनिटाइजर सहयोग गरेको छ भने इलाका प्रहरी कार्यालय सिंगटीलाई एक हजार थान मास्क, पाँच लिटर सेनिटाइजर, सेनालाई एक हजार थान मास्क र आवाज नेपाल दोलखालाई पाँच सय थान मास्क वितरण गरेको छ ।
समाजले एक लाख २० हजार मूल्यबराबरको स्वास्थ्य सामग्री दोलखामा सहयोग गरेको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिए । समाजले जिल्लाभर सोमबार र मंगलबार सबै स्थानीय तहमा सामग्री वितरण गर्ने जनाएको छ ।