काठमाडौं ।
पछिल्लो समय कोरोना संक्रमित बढेसँगै अस्पताल जानको लागि हेलिकप्टर प्रयोग गर्नेको संख्या बढेको छ । यसैबीच कोरोना संक्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकप्टर कम्पनीेले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सबै हेलिकप्टर कम्पनीहरुलाई निर्देशन दिएको छ ।
क्यानका उपमहानिर्देशक भोलाप्रसाद गुरागाईंले कोरोना संक्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकप्टर कम्पनीहरुलाई निर्देशन दिइसकेको बताए । यस्तै उनले कोरोना संक्रमित यात्रुलाई हेलिकप्टरमार्फत उडान भर्दा बढी रकम नलिन समेत निर्देशन दिएको बताएका छन् ।
हेलिकप्टर कम्पनीहरुले पछिल्लो समय कोरोना संक्रमितलाई हेलिकप्टरबाट ओसारपसार गर्दा बढी शुल्क लिएको भन्दै तोकिएको भाडादर मात्र लिन समेत आग्रह गरिएको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा रहेको कोभिडको नयाँ भेरियन्टसहितको संक्रमण नेपालमा समेत तीव्र रुपमा बढिरहेकोले सोको रोकथाम, व्यवस्थापन तथा नियन्त्रणको लागि नेपाल सरकारद्वारा नियमित आन्तरिक उडान बन्द गर्ने निर्णय भएको वर्तमान अवस्थामा कोरोना संक्रमित बिरामी ओसारपसार तथा अन्य आकस्मिक उद्धार उडान सञ्चालन गर्दा हेलिकप्टर कम्पनीहरुले तोकेभन्दा बढी भाडा लिएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति क्यानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘कोरोना संक्रमणको वर्तमान परिस्थितिलाई दृष्टिगत गरी प्राधिकरणको निर्देशनबमोजिम हेलिकप्टर कम्पनीहरुले नेपाल सरकारद्वारा तोकिएको प्रतिघण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोरोना संक्रमित यात्रु बोक्नुपर्दा भने त्यस्ता यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीहरुको स्वास्थ्य जोखिमबापत थप अक्तिरिक्त शुल्क सम्बन्धित हेलिकप्टर कम्पनीहरुले लिँदै आएको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
यस सम्बन्धमा कुनै गुनासो भए उडान अनुमति शाखाका अधिकारी ज्ञानेन्द्र भुललाई ९८५११३५०९१ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
यसैबीच हवाइ सेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले पनि विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उद्धारको क्रममा बढी भाडा नलिन आफ्ना सबै सदस्यहरुलाई आग्रह गरेको छ । यस्तै संघले कहीँ कसैले बढी भाडा लिएमा संघ वा क्यानमा जानकारी गराउन आग्रह समेत गरेको छ ।